कविताः अनामिका
–लक्ष्मी ‘रेशमी’–
सूर्यको प्रकाश सापटी लिएर
हजारौं ताराहरुको बीचमा
पुर्णेको जुन झैँ उदाएकी
आफ्नो पूर्णताको घमण्डमा
चम्किरहेकी छिन् आज
नवयौवनाको रुपमा
***
सुन्दरताको मनमोहकता छरेर
मुस्काइरहन्छिन् रात भर
पूर्वको लालीको उदयसँगै
धिमा बनिरहेछ उत्साहको तेज
निस्तेज निस्प्राण गायब छिन्
औंसीको त्यो चुक रातमा
र पनि अझै घमण्ड गर्छिन्
पूर्णेको जुन बनेकीमा
***
सागरको चक्रपात
वर्सेका बादलको झरी
उर्लिरहन्छ खहरे बनेर
उन्मत्त झोकाहरुलाई सोहर्दै
बग्छिन् ठूलो हिमनदी झै
ठानेर आफैँलाई
तर्साइरहन्छिन् बेलाबेला
बिर्सेर आफ्नो बगरको अस्तित्व
चुनौती दिइरहेकी छिन् अनामिका...।
***
–चन्द्रपुर, रौतहट ।...