
ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’: रेणुका जिसीको पाठकीय दृष्टी
–रेणुका जिसी–
एक नारी, आमा अनि जागिरे महिलाले अनुभूत गरेका अनुभूतिहरूको समायोग हो साहित्यकार ज्ञानु अधिकारीको संवेदनाको समायोग । निजात्मक शैलीमा लेखिएका यी निबन्धहरू कोमल छन्, सरस छन् ।
‘म चाहन्थेँ, म संसारकै सबैभन्दा महान् आमा बनूँ । तिमीलाई आफ्नो काखको विशाल छहारीमा नै राखेर हुर्काऊँ । तिम्रा हरेक क्रियाकलापहरूलाई नजिकै बसेर नियालूँ । तिम्रा कलिला हात समातेर घर, आँगन, बगैँचा डुलूँ । प्रत्येक साँझबिहान कुनै खुला चउरमा तिमी उन्मुक्त भएर दौडन सिकेको हेरूँ र परको क्षितिजलाई देखाएर तिम्रो गन्तव्य त्यहीँ हो भनेर सिकाऊँ (पृ. ११) ।’ संवेदनाको समायोगको पहिलो निबन्ध ‘के म असल आमा बन्न सकेँ ?’ का अंश हुन् यी वाक्य ।
आफ्ना दुबै सन्तान अरू कसैको काखमा जिम्मा लगाएर दिनभर विद्यालयमा सिकाइरहँदा पटक पटक चिमोटिन्थेँ । ‘के म असल आमा बन्न सकेँ ? ’ यो निबन्ध पढ्दा सोही स्मृतिले छाती चसक्क भयो । आँखा रसायो...