५ माघ २०८१, शनिबार

प्रवासी नेपालीहरुले बोस्टनमा माघे सङ्क्रान्ति भव्यताका साथ मनाए (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , January 18th, 2025

-सुरेन्द्र नापित (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा प्रवासी नेपालीहरुले नेपालीको विशेष चाड माघे सङ्क्राति भव्यताका साथ मनाएका छन् । गत जनवरी १३ तारिख, सोमबारका दिन विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी माघे सङ्क्राति मनाएका हुन् । मगर संघ, अमेरिकाको बोस्टन च्याप्टरले माघे सङ्क्रान्तिको अवसर पारेर “माघे सङ्क्रान्ति–२०२५” कार्यक्रमको आयोजना गरेको थियो ।

प्रवासमा रहेका मगर जातिहरु एकताबद्ध हुने, आफ्नो भाषा, भेष भुषा, मौलिक कला, संस्कृति, परम्परा आदिको जगेर्ना गर्न योगदान पुर्याउने र आपसमा दुस्ख सुख बाड्दै “माघे सङ्क्रान्ति” मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

“जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई, जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई…” भन्ने नाराका साथ मनाइएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

संघको बोस्टन च्याप्टरका अध्यक्ष देवराज पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन, मगर संघ, अमेरिकाका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि यम पुन मगरले पानसमा बत्ती बालेर गरेका थिए ।

प्रमुख अतिथि मगरले बोस्टन च्याप्टरले विशेष कार्यक्रम गरेर सबैलाई माघे सङ्क्रान्ति सामूहिक रुपमा उल्लासका साथ मनाउने अवसर प्रदान गरेकोमा धन्यवाद दिए । उनले अमेरिकामा रहेका सबै मगरहरुलाई एकजुट हुन आव्हान गर्दै माघे सङ्क्रातिको शुभकामनासमेत दिएका थिए । कार्यक्रममा उपस्थित अन्य अतिथिहरु र सहभागीहरुले पनि कार्यक्रम आयोजकलाई धन्यवाद दिदै शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा कलाकारहरुले आकर्षक नेपाली गीत सङ्गीतहरु प्रस्तुत गरेका थिए। कलाकारहरुले मगर जातिहरुको पहिचान झल्काउने साङ्गीतिक कोसेलीहरु प्रस्तुत गर्दा सहभागीहरु निकै रमाएका थिए। मञ्चमा खारिएका कलाकारहरुले नेपाली गीतहरुमा निकै आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। कलाकारहरुले प्रस्तुत गरेको साङ्गीतिक कोसेलीहरुमा सहभागीहरुले निकै उत्साहका साथ नाच्दै गाउदै मनोरञ्जन लिएका थिए ।

बोस्टन च्याप्टरका अध्यक्ष देवराज पुन मगरले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताएका छन्। उनले कार्यक्रम सोचे भन्दा पनि बढी प्रभाकारी र रमाइलो भएको भन्दै सहयोगीहरुलाई धन्यवाद दिएका छन् । अध्यक्ष मगरले कार्यक्रमबाट धेरै कुरा सिकिएको र भावी दिनमा अझ राम्रो बनाउने गरी मेहनत गर्ने बताए । उनले मगरहरुको विशेष राष्ट्रिय पर्वको अवसरमा सबैलाई शुभकामनासमेत व्यक्त गरेका छन् । जनवरी १४ तारिख परेको माघे सङ्क्रान्ति नेपाल र नेपाल बाहिर विभिन्न गतिविधिहरु गरेर उल्लासका साथ मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्