नेपाल । ‘द गोर्खा मेमोरियल फण्ड बेलायत’ले झापाको मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ ।
फण्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा रु ३२ लाख मूल्यका कम्प्युटरसहित टेबल, कुर्सी र कार्पेट विद्यालयलाई हस्तान्तरण गरिएको हो । धुलाबारी माध्यमिक विद्यालयमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ सय जनाले कम्प्युटर विषयमा अध्ययन गरिरहेका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो ।
फण्डका अध्यक्ष गुरुङले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मद्दत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।
फण्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई रु २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्