अमेरिका । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूख ढालेका छन् ।
लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ ।
लस एन्जलसका सयौँ भवन ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपि धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ ।
मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्