नेपाल । गत कार्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनशिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काबा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।
खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । २०८१ मंसिर २८ गते गरेको मन्त्रिपरिषदको निर्णयअनुसार साफ वुमन्स च्याम्पियनशिपमा दोश्रो स्थान हासिल गरेका नेपाली खेलाडीलाई आज नेपाल सरकारबाट पुरस्कार दिइएको हो ।
गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार पुरस्कारको रकम खेलाडीहरुको खातामा हाल्दिइसकिएको छ।
खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रदान गरिएको छ भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई २ लाख र सहायक प्रशिक्षकहरुलाई जनही ६० हजार प्रदान गरिएको छ।
त्यस्तै व्यवस्थापक वृन्दा देवान र फिजियो नविना श्रेष्ठले जनही एक लाख बाह्र हजार पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका हुन् । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारले कर कट्टा नगरी पुरस्कार दिएको हो ।
खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि गरेकामा खेलाडीहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल र अठोटका साथ प्रतिस्पर्धा गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्