२३ पुष २०८१, मंगलवार

लण्डनमा गुञ्जियो कन्दरा ब्याण्ड, अमेरिकामा पनि प्रस्तुति दिने

कोलोराडोखबर संवाददाता , January 6th, 2025

अमेरिका । शनिबार पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ ।

विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ।

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे ।

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन् ।

कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगष्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा सांगितिक प्रस्तुति दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्