–सुदीपभद्र खनाल–
शक्तिका मादले डुब्छन् जसरी क्रूर शासक
अहंकारी हुँदा डुब्छ विद्वान् र मित्रको यश
गृहस्थ मदले डुब्छ परीले डुब्छ तापस
मरेको जीव फर्केला हुन्न विश्वास वापस ।
सदा फेरिन्छ यो धर्ती सदा फेरिन्छ यो पल
लोकको मत फेरिन्छ फेरिन्छन् कुसुमी दल
ऋतु फेरिन्छ यो सारा सृष्टि फेरिन्छ हर्पल
फेरिन्नन् कहिल्यै किन्तु अहंकारी हृदस्थल ।
विद्वान् विनयले बाँच्छन् छलले बाँच्छ दुर्जन
शासक नीतिले बाँच्छन् गुणले बाँच्छ सज्जन
गुरू ज्ञानज्ञ भै बाँच्छन् मुर्ख बाँच्छन् गरी कल
आआफ्नै वृत्ति वा रीतले चल्छन् जीव–मण्डल ।
उज्यालो साँझमा डुब्छ अन्धकार बिहानमा
राजा रंक सबै पुग्छ अन्त्यमा त्यो चिहानमा
ढुङ्गो नि देवता बन्छ मनले पुजिएपछि
देव नै त्रासदी बन्छ आस्थानै सिद्दिएपछि ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्