२२ पुष २०८१, सोमबार

कविताः सहर छाड्नु अघि

कोलोराडोखबर संवाददाता , January 4th, 2025

–मसान उपासक–

आएथेँ सपनाहरूको गह्रौँ भारी बोकेर
फर्कँदै छु बिना सपना यो सहरबाट ।

जसरी घर छाड्दा बेचैन थियो यो मन
फेरि किन उस्तै छटपटी छ मनभरि
आँखाभरि अचेल गाउँ मात्रै याद आउँछ ।

उहीँ घर, आँगन र साथीहरू
सम्झेर निद हराउँदै गएको छ फेरि
छाड्नु अघि सहर नयाँ उमङ्ग छ तनमा ।

सम्झेर खोलीको किनारमा खेलेको दिन
मुटुबाट निस्कन्छ कान्छीको मात्रै याद
गुच्चामा पोखिएको मिहिनेत सम्झेर
आइरहन्छ मास्टरको तर्साउने अनुहार
चोरेर खाएको छिमेकीको काँक्रोमा
फेरि थपिएको गाली सम्झेर
किन हाँस्छु एक्लै यता रहँदा पनि
वर्षौँपछि तिमी भेटिने रहरमा
फुलमाया ! किन यसरी बेचैनी छ मनमा ?

अचेल जब मेरो सानो छोराले पनि
खेल्दै खेल्दै आँगनको डिलबाट
उभिएर सडक किनारामा
आफ्नो बाबा आउने बाटोतिरका
हरेक आवाजहरूलाई कुरिबस्छ
यो सुनेर किन छटपटी बढ्छ मनभरि ?

भत्किएर धरहरा भग्नावशेष भए जसरी
कान्छीको मन कति पटक भत्कियो होला
हठात् सपनाको मलामी गएको क्षण
गरेको छु मैले गाउँ फर्कने निर्णय

फर्कनु छ गाउँ
रोप्नु छ नयाँ सपना
बिराउनु छ खेत र फलाउनु छ धान
छरेर भाग्यलाई बारीमा
पाल्नु छ छोराछोरी र बा-आमा ।

सरकार! बाँझो राख्दिनँ खेतबारी
तर
पोहोर जस्तै यस पटक पनि
खेतबारीमा नफले मेरो सपनाको खेती
नसके पाल्न सुखले परिवार
फेरि कतार जानुको विकल्प अरू हुने छैन ।

म नागरिक
यति माग राखिरहेको छु सरकार
गाउँ फर्किएकैले फेरि मैले
पासपोर्ट बोकेर प्लेनको अन्तिम सिटबाट
खाडी जान नपरोस् ।

हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्