नेपाल । लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ ।
दक्षिण एसियाका साहित्य र संस्कृति जोड्ने पुलको रूपमा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय दोस्रो दक्षिण एसिया पुस्तक प्रदर्शनीमा बिहीबार आयोजित ‘नेपाली साहित्य लेखनमा महिलाको उपस्थिति’ विषयमा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
हालै बजारमा आएको कृति दज्यू सन्लाप निबन्ध सङ्ग्रहका लेखकसमेत रहनुभएका लेखक लामाले आफूलाई नारीवादी लेखकका रूपमा स्विकार्दै वर्गीय र लैङ्गिक सशक्तीकरणको सवालसँगै हाल पहिचानको मुद्दालाई पनि सँगै उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको संरचनागत समस्याका कारण पनि महिलाले बढी समस्या भोग्नु परेको छ, महिलाले भोगेको समस्या महिला लेखकले नै राम्रोसँग लेख्न सक्छन् तर त्यस्ता कृतिलाई महिलाको गनगन मान्ने, पीडालाई हाँसोमा उडाउने प्रवृत्तिसमेत हाबी छ ।”
लेखक लामाले समानताका वकालत गर्दै महिला लेखकले लेखेका कृतिको अध्ययन गरी बुझ्ने, प्रतिक्रिया दिने र लेखकले पनि समाज परिवर्तनका लागि प्रशस्त मेहनतका साथ जिम्मेवार बन्नुपर्ने बताउनुभयो । लेखक डा. ज्ञानु पाण्डेले साहित्य अनुभूतिकै अभिव्यक्ति हो भन्दै नारीवादी लेखक महिला मात्र हुँदैनन्, महिला, पुरुष वा अन्य लिङ्गीय पहिचान भएका व्यक्तिहुन सक्छन् भन्नुभयो ।
उहाँले समानताको न्यायका लागि कलम चलाउने हरेक लेखक नारीवादी हुन सक्छन् तर २१ औँ शताब्दीमा पनि नारीवादी साहित्य, लेखकबारे चर्चा गरिरहनुपर्नुका कारण भने नारीवादी सोचको परिवेश नभएरै हो भन्नुभयो । लेखक डा। पाण्डेले नारीवादी साहित्य वा कृतिले समाजको आफ्नो धरातललाई बुझाउन खोज्दा बुझ्ने कोसिस भने नारी र पुरुष सबै पाठकले गर्नुपर्ने बताउँदै समग्रमा महिला लेखकको पहिचानलाई पनि स्विकार्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्