नेपाल (हेटौंडा) । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् ।
मंगलबार हेटौंडामा ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे ।
‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्दैन कि भन्ने नसोच्नुहोला,’ उनले भने । पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने पटक–पटक दाबी गरे ।
उनले पार्टीका मञ्चहरुमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा हुने गरेको भन्दै १५औं महाधिवेशनको विषयमा रुवाबासी गर्नुनपर्ने बताए । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला । अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्