–तुलसी घिमिरे–
म वर उभिएको छु
अलिकता पर बगेको खोला होस्
खोलाको पल्लोतिर
अर्धनग्न पहाड होस्
त्यही पहाडको काखमा
मेरो एउटा घर होस्
घरको धुरी नाघेर
उडुन् चराको हुल
म आँगनमा उभिएर
समात्न खोजुँ
माहुरीको रानी
त्यो सुन्दर दृश्य कैद गरेर
खिचुन् बिदेशीले फोटो
म हेरि रहुँ
आफू जन्मेको माटो
आफू हिडेको बाटो ।
मलाई कसैले नबिथोल
म खोला जस्तै बग्न चाहन्छु
चरा जस्तै उड्न चाहन्छु
त्यो अर्धनग्न पहाड
हरियाली बनाउन चाहन्छु
टाढैबाट चराले सोधोस्
कविजी तपाईंको घर कता हो ?
द्वार कता हो ?
नाम के हो ?
काम के हो ?
म पहाडको टुप्पोमा बसेर
भन्न सकुँ
मेरो घर त्यहीँ हो
जहाँ अग्लो हिमाल छ
मेरो घर उ त्यो पर हो
जहाँ बुद्धको जन्मथलो छ
जहाँ खुकुरी भिरेका वीर नेपाली बस्छन्
म चिच्याएर भन्न सकुँ
म कवि हुँ
कविता लेख्छु ।
मेरा कविताहरुमा
मजदुरका पिडा छ्न
किसानका बिद्रोह छ्न
आमाको सपना छ्न
नारीको आक्रोश छ्न
माटोको सुगन्ध छ
फुलको सौर्न्दर्य छ
र
म जन्मिएको झकिझकाउ एउटा सुन्दर देश छ ।
खिच्ने भए खिच
आफ्नै आँखाले
मेरो देशको सुन्दर तस्वीर
जो हुनेछ कालजयी
धुमिल हुने छैन
पुस्ता दर पुस्ता
टाँसेर राख आफ्नै छातिमा
जसरी बाले बुझाएका थिए
जस्ताको तस्तै हामिलाई
यो देश
यो गौरवसाली इतिहास
त्यसैले म
निलो नभमा बतासिदै
उड्न चाहन्छु
कालोबादल पन्छाउदै
उडान भर्न चाहन्छु
र लेख्न चाहन्छु
निलो आकाशको कविता
हरियो धर्तीको कविता
कसैले खिचोस्
मेरो तस्वीर
म सगै उड्ने चराको तस्वीर
मेरो आमाको तस्वीर
मेरो बाको तस्वीर
मेरो देशको तस्वीर ।
भावी पिढीले पढ्ने छ
मेरा सुन्दर श्रृजनाहरु
ठेलिका ठेली किताब लेखिने छ
पहाड, खोला, फुलहरुको
सिमाना, माटो, कुलहरुको
नानीहरु सिको गर्ने छन्
अझ त्यसमा सुन्दर रंग भर्ने छन्
हजारौं आँखाहरुले
तस्वीर बनाउने छ्न्
कहिल्यै नमेटिने
कहिल्यै नहराउने
मेरो देशको सजीव चित्र ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्