–सुदीपभद्र खनाल–
अनकन्टार घनघोर जङ्गल
असंख्य अनगिन्ति पहाडहरू
प्राकृत गुफाहरू
हिंस्रक जीव,
अभाव, अनाचार, अनीति, अज्ञान, अमानवीयता
र यस्तै अनेकन आतङ्क भोगेर
यमको कालो छायाँबाट
निरन्तर भागिरहेको
भयग्रस्त मानव
भाग्दा भाग्दै
कहिले
असंख्य मानव अस्थिपञ्जरहरूको
पहाडमा उभिएर
कहिले
खप्परहरूको खड्खडाहट
र कहिले अनेकानेक
रक्त नदीहरूको मेलबाट सिर्जित
मानवरक्त समुद्रमा डुबुल्की मार्दै
भयमय सृष्टिको बीचबाट
अत्यन्त आतंकित श्वरमा
कालेश्वर यमको
प्रकोप खप्न थेग्न नसकेर
उसको तेज क्रोध हुंकार
कालाग्नि हरपल भोगेर
भेट्न नसकेपछि मालिक स्वयंलाई
अर्चना गरिरहेछ
यम सेवक महिषराजको
र गिड्गिडाइरहेछ हरपल
रक्षा गर हे महिषराज !
छुटिरहेछ पसिना
काँपिरहेछ तन
थर्किरहेछ मन
र भनिरहेछ कम्पित श्वरमा
आइन्दा सदैव सेवकहरूकै
सेवा गर्नेछु प्रभो !
लखेट्दैछ यो भयातङ्कले जन्मदेखिनै
निकाल यो भयको
ओढारबाट
बचाउ कालपाशबाट
जोगाऊ यमपञ्जाबाट
होस गुमको छ
हवास उडेको छ
लड्खडाइरहेका छन् गोडाहरू
चिसो हुँदै फुलेर ढक्क भैरहेछ मुटु
थथराइरहेछन् हात
जीवन रक्षा गर
त्राहिमाम त्राहिमाम त्राहिमाम !
–केन्द्रीय उपाध्यक्ष, अनेसास
–अमेरका ।
प्रतिक्रिया दिनुहोस्