नेपाल (हेटौंडा) । मकवानपुर जिल्लास्थित हेटौंडाको चुरियामाई सुरुङमार्ग सोमबाट सञ्चालनमा आएको छ ।
बागमती प्रदेश सरकारद्वारा हेटौंडा उपमहानगरपालिकालाई सुरुङमार्ग पर्यटकीय गन्तव्यका रुपमा सञ्चालन गर्नका लागि हस्तान्तरण गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिका बिचमा संझौतापत्रमा हस्ताक्षर गर्दै सञ्चालनमा ल्याइएको हो ।
दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँएको हो । हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गरिएको छ ।
सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो । हस्तान्तरणको प्रक्रिया नै लम्विएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न सकिएको थिएन ।
नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा विसं १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग पुनःनिर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्