नेपाल (हेटौंडा) । राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा सहभागी भई कास्कीका संयोग बस्यालले ४० हजार रुपैयाँ जितेका छन् । कविता प्रतियोगितामा सहभागी भई उत्कृष्ट २० मा पर्न सफल बस्यालको ‘सावधान’ शीर्षकको कविता प्रथम हुँदै नगद ४० हजार रुपैयाँ जित्न सफल भएको हो ।
यस्तै कास्कीकै सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कविता द्वितीय, उदयपुरकी सुमि पोखरेलको ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कविता तृतीय र बझाङका महेश कठायतको ‘देश’ शिर्षकको कविता सान्त्वना भएको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
शनिबार बागमती प्रदेश सरकार मातहतको प्रदेश युवा परिषद्सँगको सहकार्यमा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा आयोजित युवा कविता उत्सवका लागि कविता आव्हान गर्दा २ सय २३ कविता प्राप्त भएको थियो । प्राप्त कविता मध्ये उत्कृष्ट २० कविताको संक्षिप्त सूचि तयार पारेर शनिबार कविता वाचन गर्न दिइएको थियो ।
सोही अवसरमा मोमिला जोशीको एकल कविता वाचन तथा पुस्तक प्रदर्शनी समेत गरिएको छ । कवि जोशीले भाव समर्पण, प्रेम, पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला, मात्र एउटा हाँगा काटिने, दोभन प्रहारबाट, नगरबधुको वक्तव्य, हिउँदको प्रथम वर्षात्, उकालोमा मेरो तस्बिर, तिमी र म, भीमसेन थापाको सुसाइड नोट शिर्षकको कविता वाचन गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ गैरे, प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, साहित्य संगम मकवानपुरका सल्लाहकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईको अध्यक्षता तथा बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री मीनप्रसाद महर्जनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया दिनुहोस्