नेपाल । शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितको छ । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पारेको हो ।
प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको बदला पनि लिन सफल भएको छ ।
जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए । कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा विकेट नगुमाइ ७१ रन बनाएको थियो ।
सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक–एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन–तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक–एक विकेट लिए ।
ऐरीले पाए कार
यता, उपाधि विजेता जनकपुरले एक करोड १० लाख नगद पुरस्कार पाउँदा एनपीएलको आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।
कप्तान ऐरीले एनपीएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट लिएका थिए ।
एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन्। उनले पाँच लाखको चेक प्राप्त गरे ।
जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन् ।
यसैगरी जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले दुई लाखको चेक समेत प्राप्त गरेका छन् ।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजारको चेक प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्