८ बैशाख २०८२, सोमबार

कविताः अहिले पनि हामी जङ्गली युगमा छौँ

कोलोराडोखबर संवाददाता , December 21st, 2024

–आर.आर. चौलागाईं–

लोकतन्त्रमा
जिन्दावाद पनि भन्न पाइन्छ
मुर्दावाद पनि भन्न पाइन्छ
‘किन भनिस् ?’
भन्न पाइँदैन
लाठीचार्ज गर्न पाइँदैन
पानीको फोहराले हान्न पाइँदैन
थुन्न पाइँदैन
निजी डायरी खोस्न पाइँदैन
झाङ्गलझुङ्गल पार्दै
अनि सुत्नै नदिई
मध्यरातमा अड्डासार गर्न पाइँदैन
तर हामी यी सब गरिरहेका छौँ
किनभने अहिले पनि हामी जङ्गली युगमा छौँ ।

सत्ताधारीले जे गरे पनि हुन्छ
जे बोले पनि हुन्छ
हिजो सेतो भनेको चिजलाई
आज कालो भने पनि हुन्छ
हिजो कालो भनेको चिजलाई
आज सेतो भने पनि हुन्छ
आफ्ना सन्डमुसन्डहरूलाई
मुख छोड्न लगाए पनि हुन्छ
आफ्नो आङको भैँसीलाई
नदेखेको जस्तो गरे पनि हुन्छ
अर्काको आङको जुम्रालाई
भैँसीजस्तो देखे पनि हुन्छ
मान्छे नभएको ठाउँमा भ्यु टावर बनाए पनि हुन्छ
खोलो नभएको ठाउँमा पुल हाले पनि हुन्छ
आफ्नालाई उन्मुक्ति दिए पनि हुन्छ
अरूलाई जति खेदे पनि हुन्छ
तर हामी यी सब गरिरहेका छौँ
किनभने अहिले पनि हामी जङ्गली युगमा छौँ ।

कहिलेकाहीँ लोकतन्त्र पनि तानाशाही हुँदो रहेछ
यस्तो लोकतन्त्रलाई देखेर म छक्क परेको छु
के हामीले लडेर ल्याएको लोकतन्त्र
यस्तैयस्तै मनपरी गर्नलाई हो ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्