८ बैशाख २०८२, सोमबार

कविताः अपिल

कोलोराडोखबर संवाददाता , December 21st, 2024

–लक्ष्मण आचार्य–

तिनीहरू
फेरि आउने छन्
झुटको खेती गर्न
व्याभिचारको बाली लगाउन
स्वेच्छाचारीको फसल फलाउन ।

पटकपटक पटाक्षेप भएको छ
इतिहासको आलोक
पटकपटक धुमिल पारिएको छ
झिँसमिसेको घाम
वा
यसो भनौं कोरिएको छ
अदृश्य मार्जिनल लक्ष्मणरेखा ।

एक भूगोल घुम्ने
पृथ्वी ग्रहणले छोपिएको छ
एक याम पहार
हुस्सुले छिपेको छ
एक वसन्त याम
झुसिल्किराले डसेको छ ।

यात्रा
बिराएकै ठाउँबाट शुरु गर्न सकिन्थ्यो
बिसौनीमै तिमी नहराइदिएको भए हुन्थ्यो
व्यवस्था उलटपुलटको
सिक्का बाजि
टस हारेर के भयो ?
टस जितेर के भयो ?

परम्परा नै यस्तै छ
जन्मसँगै सुतक पर्छ
मृत्युुसँगै जुठो लाग्छ
हामीले पनि
यत्ति बुझेर
जन्मोत्सव नमनाए हुन्थ्यो
मृत्युलाई उत्सव नबनाए हुन्थ्यो ।

–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्