–राजु सिटौला–
आकाश जस्तै
नीलो आँखा भएकी जेनिफर,
उसको लामो कपाल
मानौँ झरना झैँ झरिरहेको छ ।
हिउँदका छोटा दिनहरू,
रात छिप्पिदै छ,
बाहिर चिसो बिस्तारै बिस्तारै
रकी माउन्टेनबाट
शहरतिर अगाडि बढ्दै छ ।
पश्चिममा हिउँको कम्बल ओढेका
पहाड, रुख र घरहरू ।
म झ्यालबाट बाहिर हेर्छु,
हुनसक्छ नयाँ वर्ष
अथवा तिम्रो आगमनको खुशीयालीमा
हिमकणहरू हावामा
फुसफुस नाच्दै छन् ।
जेनिफर,
चिसो, शान्त तर उज्यालो डेन्भर शहर
तिमीलाई
आफ्नो अँगालोमा बाँध्न आतुर छ ।
म फेरि
हिमकणहरूलाई हेर्छु,
तिनीहरू घुम्दैछन् र उड्दैछन्
यति सुन्दर, यति दिव्य
मलाई मेरो आत्मा उडेको महसुस हुन्छ ।
यति शुद्ध र उज्यालो,
यो समय जादुमय भएको छ ।
आउ हामी हाम्रा ग्लासहरू उठाएर
बिहानको लागि टोस्ट गरौं,
एउटा नयाँ शुरुवातको
साक्षी बसौँ ।
नयाँ वर्ष सुरु हुन्छ,
र नयाँ दिन जन्मन्छ ।
जेनिफर,
तिमी नयाँ दिनको
त्यो उज्यालो हौ,
यो चिसोले कठयाङ्ग्रिएको रातमा
म बिस्तारै
न्यानो महसुश गर्दैछु,
तिम्रो प्रेमको
नयाँ दिनको उज्यालोको ।
–कोलोराडो, अमेरिका ।
(अध्यक्ष, अनेसास कोलोराडो च्याप्टर)
प्रतिक्रिया दिनुहोस्