११ मंसिर २०८१, मंगलवार

साहित्यले अमरत्व प्रदान गर्छः डा. सिन्हा

कोलोराडोखबर संवाददाता , December 31st, 2023

रौतहट (नेपाल) । बज्जिका भाषा र साहित्यका अभियन्ता डा. कमलेश्वरकुमार सिन्हाले साहित्यले अमरत्व प्रदान गर्ने बताएका छन् । सर्लाहीको बलरा नगरपालिका ११ छतौनास्थित श्री सुधा राजेश्वर माध्यमिक विद्यालयमा आयोजित कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा. सिन्हाले साहित्य सिर्जना गरेर र कृति प्रकाशन गरेर साहित्यकारहरु अमर बनेको पनि बताएका हुन् ।

बज्जिका साहित्य समाज सर्लाहीको आयोजनामा समाजका अध्यक्ष रामचन्द्र महतोको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा. सिन्हाले साहित्यिक कृतिको लेखकका माध्यमबाट साहित्यकार रहेको ठाउँले पनि इतिहासमा स्थान बनाई अमर बन्ने गरेको धारणा राखे ।

बज्जी साहित्यिक पत्रिकाको विशेषांकको रुपमा प्रकाशित ‘मनोहर सुगन्ध’ साहित्यिक कृतिको सामूहिक लोकार्पण कार्यक्रममा डा. सीमा सिंहले बज्जिका निकै पुरानो भाषा भएको र आफू पहिलेदेखि नै हिन्दी साहित्यमा कलम चलाइरहेको तथा अब बज्जिका साहित्यमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै रामवृक्ष महतोले प्रदेशको सम्पूर्ण विद्यालयमा बज्जिका भाषालाई माध्यम बनाएर बालबालिकालाई शिक्षा दिनुपर्ने धारणा राखे । विद्यालयका प्रधानाध्यापक सतेन्द्र प्रसाद यादवले बज्जिका भाषा र साहित्यलाई लेखन र आर्थिक दुवै दृष्टिकोणले सहयोगका लागि तयार रहेको बताउँदै आफ्नो विद्यालयमा बज्जिका भाषा पढाइ भइरहेको सगर्व स्पष्ट पारे ।

बज्जिका भाषा विकास परिषद नेपालका संस्थापक अध्यक्ष शिवचन्द्र साहले रौतहट र सर्लाही भाषा तथा साहित्यमा जागरुक भइसकेको र बारा तथा सर्लाही बज्जिका जागरुकताको दृष्टिकोणले पछाडि रहेकामा अब महोत्तरीमा जागरण आउनु स्वाभाविक रहेको बताए ।

बलरा नगरपालिका ११ का वडाध्यक्ष सुखल सहनीले पौराणिक साहित्यबाट धेरै कुरा सिक्न सकिने बताउँदै आफू पौराणिक, माध्यमिक र आधुनिक तिनै किसिमको साहित्यको अध्ययन गर्ने गरेको बताएका छन् ।

सञ्जय साह मित्र, स्वास्थ्य अधिकृत रामवृक्ष महतो, अजयकुमार सिंह, सतिशकुमार सिंह, राम स्वार्थ राय, कृष्णनन्दन सिंह, नरेन्द्र सिंह, अवधकिशोर सिंह, विनोदप्रसाद सिंह, सन्तोषकुमार सिंह, प्रद्युम्नकुमार सिंह, मुकुन्दकुमार सिंह, इन्जनियर राकेश गुप्तालगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण गरेका थिए ।

कार्यक्रममा कृतिकार मनमोहन सिंह मनोहरले आफू मैथिली, नेपाली र हिन्दी भाषामा कम्तीमा पचास वर्षदेखि विभिन्न विधामा कलम चलाइरहेको भए पनि आफ्नो पहिलो कृति बल्ल सार्वजनिक गर्न पाएको बताएका छन् । इतिहास, संस्कृति तथा दर्शन र पौराणिक साहित्यका मर्मज्ञ सिंहले आफूले निकै पछि बज्जिकाको बारेमा थाहा पाएको र साहित्य सिर्जनामा लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्