७ बैशाख २०८२, आईतवार

एनपीएलमा मंगलबारको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सको जित

कोलोराडोखबर संवाददाता , December 11th, 2024

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सले जित हासिल गरेका छन् ।

यसैक्रममा पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।

चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १०३ रनमा रोकिएको हो ।

पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।

बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ । ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित छैटौं स्थानमा छ ।

त्यस्तै सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको थियो ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएकाका थिए ।

बलिङमा चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे । पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर विकेटविहीन रहे ।

प्रतिक्रिया दिनुहोस्