नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ । आइतबार जनकपुरले लगातार चौथो जित निकालेको हो ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो ।
राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।
यता, सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो ।
सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।
बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी(इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रञ्जितकुमारले एकएक विकेट लिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्