२६ बैशाख २०८२, शुक्रबार

बाल लघुकथाः कस्तुरी

कोलोराडोखबर संवाददाता , December 7th, 2024

–आरसी रिजाल–

नातिनी — हजुरबा भगवान ठूलो कि तपाईं ?
हजुरबा — मान्छे पनि कहिँ भगवानभन्दा ठुलो हुन्छ। शृष्टिकर्ता नै ठुला हुन नानी।तिमिले किन आज अनौठो प्रश्न सोधेकी ?
नातिनी — हाम्रो सरले भन्नुभएको जुनघरमा बुढाबुढीको सम्मान हुन्छ,त्यही घरलाई ईश्वरले आफ्नो मन्दिर ठान्छन् रे! आफ्नो गोजीको ईश्वरलाई छाडेर तिमीहरु अन्यत्र खोजीमा भौँतारिनु हुँदैन भन्नू भएको छ ।
हजुरबा — एकहदसम्म त्यो भनाइमा पनि सत्यता त होला नानी ,तर हाम्रा पुर्खाले सदियौँदेखी मान्दै आएको संस्कारलाई चटक्कै त्याग्न सकिन्न। म हिँड्न सकुन्जेल मन्दिर गएको तिमीले देखेकै थियौ हैन र ?
नातिनी — देखेको थिएँ । ए त्यसो भए जुन घरको बुढाबुढी हिँड्डुल गर्न सक्तैनन् त्यो घरका परिवारले बुढाबुढीप्रती कस्तो व्यबहार गरेका छ्न त्यो हेर्न भगवान आउने भएर होला सरले त्यस्तो भन्नू भएको ।
हजुरबुबा — घरभित्रका बुढाबुढीमात्र हैन । घरभन्दा बाहिरका बेसहारा बुढाबुढीलाई पनि सहयोग गर्नु पर्छ भन्ने तिम्रो सरको आसय हो । भगवानले – मान्छेले मान्छेलाई मात्र हैन अन्य जीवप्रती गर्ने व्यवहार पनि निहालीरहेका हुन्छन् ।
नातिनी — सरले भन्नु भएको तपाईहरु त सीप र ज्ञानको खानी भएको ज्युँदो इतिहास हो रे ! तपाईहरुको अनुभवले हाम्रो जीवन सार्थक तुल्याउन ठूलो मद्दत गर्छ रे। उहि मृगले आफ्नो नाभिको कस्तुरिको सुगन्ध चाल नपाएर भौँतारिए झैँ हामी घरभित्र ईश्वरलाई थन्क्याएर मान्छेले बनाएको मन्दिरमा खोज्न पुग्छौं रे! महाकवि देवकोटाले पनि ईश्वरबारे यस्तै भन्नुभएको छ रे ! ल भन्नुस् हजुरबा — अब तपाईंको भनाइ मान्ने कि सरको ?
हजुरबा — हेर नानी म त बाह्र्खरी खारेको मान्छे हुँ । तिम्रा गुरुहरुले धेरै पढ्नु भएको छ । उहाँहरूको बिचारलाई म नकार्न शक्तिनँ । जाउ अब होमवर्क गर्न ।
–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्