२७ मंसिर २०८१, बिहीबार

जनकपुरमा धुमधामका साथ विवाह पञ्चमी मनाइँदै

कोलोराडोखबर संवाददाता , December 6th, 2024

नेपाल । शुक्रबार मंसिर २१ गते मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी । ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ । मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।​

रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुन्छन् ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल केही दिन मात्र मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्