नेपाल । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।
बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए । यो पोखराको दोस्रो हार हो । पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।
यता, सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।
युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो । प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए ।
काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलनको अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरीको ४३ रन मद्दतमा १६७ रनको बलियो स्कोर खडा गर्न सफल भयो ।
जवाफी ब्याटिङमा काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोड्न सक्यो । काठमाडौंका स्टेफन स्किनाजीले ३७ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् ।
प्रतियोगितामा पहिलो म्याच खेलिरहेका सुदुरपश्चिमका नरेनले ३.५ ओभरमा १९ रन मात्रै खर्चेर ५ विकेट लिँदै टिमको जित सुनश्चित गरे । अविनाश बोहराले दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्