१९ मंसिर २०८१, बुधबार

एनआरएनए र लुम्बिनी विकास कोषबीच महत्वपूर्ण बैठक

कोलोराडोखबर संवाददाता , December 4th, 2024

नेपाल । एनआरएनएले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हार्क्याल लामा (खेन्पो छिमे) र कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसँग केन्द्रिय कार्यालयमा बालुवाटार काठमाडौँमा एक महत्वपूर्ण बैठक आयोजना गर्यो ।

पर्यटन प्रवर्द्धन समितिका संयोजक तथा उपमहासचिव सोम सापकोटाको आतिथ्यतामा भएको यस बैठकमा एनआरएनएको दृष्टिकोण र बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि भएका प्रयासबारे चर्चा भयो ।

डा. लामाले एनआरएनएको योगदानको प्रशंसा गर्दै यो सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो र एनआरएनएका सबै कार्यकारी सदस्यहरूलाई लुम्बिनीमा आयोजना हुने ब्रिफिङ सेसनमा सहभागी हुन निमन्त्रणा दिनुभयो ।

कोषाध्यक्ष भट्टराईले लुम्बिनीको विश्वव्यापी पहिचान बढाउन “भिजिट लुम्बिनी” अभियान सञ्चालन, एनआरएनहरूलाई लुम्बिनी भ्रमण गर्न प्रेरित गर्ने, विदेशी पर्यटक ल्याउने, र एनआरएन बालबालिकाबीच यात्रा निबन्ध प्रतियोगिता आयोजना गर्ने लगायतका सुझाव प्रस्तुत गर्नुभयो ।

साथै, लुम्बिनीमा एनआरएन मठ वा आश्रम स्थापना गर्ने, “लुम्बिनी प्राइड” र “लुम्बिनी वर्ल्ड लाइट” पुरस्कार स्थापना गर्ने, र एनआरएन–लुम्बिनी प्रवर्द्धन समिति गठन गरी कार्यान्वयनलाई अघि बढाउने विचार पनि साझा गर्नुभयो ।

उक्त अबसरमा एनआरएनएका सह–कोषाध्यक्ष कृष्ण तिमिल्सिनाले पनि बैठकमा सहभागिता जनाउनुभयो। आगामी दिनमा लुम्बिनीको सांस्कृतिक र आध्यात्मिक महत्वलाई थप बढावा दिन साझा प्रतिबद्धता र सकारात्मक दृष्टिकोणकासाथ सहकार्य गर्ने जानकारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्