७ बैशाख २०८२, आईतवार

एनपीएलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी

कोलोराडोखबर संवाददाता , December 3rd, 2024

नेपाल । । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबार सम्पन्न खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी भएका छन् ।

यसैक्रममा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए ।

बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।

माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

त्यस्तै कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । उनी ६२ रनमा अविजित रहे । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे । अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरको यो दोस्रो जित हो । यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्