१९ मंसिर २०८१, बुधबार

अनेसासद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न आह्वान

कोलोराडोखबर संवाददाता , December 2nd, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न आह्वान गरिएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य,  संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको पुस्तकहरू ४ प्रति फरवरी २८, २०२५ सम्ममा प्राप्त भइसक्नुपर्नेछ । यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जनाएका छन् ।

उपर्युक्त आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा आयोजना हुने भानुजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने पनि जनाइएको छ । आधार पूरा भएका कृतिहरु तोकिएको समयमा पठाउन सम्पूर्ण लेखकहरूलाई अनुरोध गरिएको छ । पुस्तकहरु पठाउन सहयोग गर्न सम्बन्धित च्याप्टर, आजीवन तथा ट्रष्टीहरूलाई अनुरोध गरिएको छ ।

पुस्तकहरू सन्ध्या पहाडी (फोन नं. ९८४१८०३७१५) वा संयुक्त राज्य अमेरिकामा Tirtha Pandey, 6433 Abel Street, Elkridge MD 21075 अथवा 1727 Horner Road Woodbridge, VA 22191 मा पठाउन सकिने छ । पुस्तक पठाउने सम्बन्धमा कुनै जिज्ञासा भएमा अनेसासका स्थानीय च्याप्टरहरू, केन्द्रीय कार्यसमिति वा बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरूसंग सम्पर्क राख्न वा [email protected] र/वा [email protected] मा सम्पर्क राख्नु हुन र विस्तृत जानकारीका लागि संस्थाको वेभसाइट www.inls.org हेर्नु हुन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्