अमेरिका । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा शनिबारदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु भएको छ ।
‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्धन’ नाराका साथ ‘नेपाल फेस्टिभल’ शुरु भएको हो ।
आइतबारसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ।
जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसाँस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ। फेस्टिभलमा विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, र प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए।
एनआरएन जापानले सन् २०१२ देखि जापानमा महोत्सव गर्दै आएको छ । उक्त महोत्सवमा सहभागी हुन एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीसहितको टोली जापान पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्