नेपाल । नेपालमा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरु हुँदैछ ।
उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ ।
जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।
विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुशी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए ।
विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्