१२ पुष २०८१, शुक्रबार

कविताः नोस्टाल्जिया

कोलोराडोखबर संवाददाता , November 30th, 2024

–सर्वज्ञ वाग्ले–
मेरो गाउॅ सपनीमा सुटुक्क आयो
र मलाई गुनासो गर्यो
र भन्यो तिम्रो नाउॅ अझै
मीठो स्वरमा गुन्जन्छ
के तिमीसम्म यहॅाको सुगन्ध पुग्दैन ?

तिमीले पहिलो पाइला टेकेको
तिमीले ताते ताते गरेको
तिमी जन्मेको जमिन हो म
तिमीलाई कस्ले ताते ताते गर्न सिकायो ,
तिमीलाई कुन भूमीले हिंड्न र उभिन सिकायो ?
के मेरो याद आउॅदैन ?

तिमीले लडिबुडी गरेर आमासॅग घुर्की लगाएको
घर भत्किसकेको छ
देख्न मन लाग्दैन,
के तिम्रो घर र भित्ताहरूको
जीर्णोद्धार गर्न मन हुंदैन ?

तिम्रा घरका दलानका
खॅाबाहरू जलाए छन्
भित्ताहरू फोडेका छन्
आफू जन्मेको भूमि
एक पटक हेर्न मन लाग्दैन ?

उसले मलाई पटक पटक
मन दुखाउॅदै
मलाई गुनासो गर्यो र रोयो
म पनि ऊ सॅगसॅगै खुव रोएं
म व्युंझदा सिरानी भिजेको थियो ।

मेरो जमिन, मेरो मातृभूमिले
प्रश्न गर्यो मलाई
कति कमाएर फर्कन्छौ ?
कतिले तिमीलाई पुग्छ ?
कस्तो गाडी चढेका छौ ?
के ती सबै सबै धन सम्पत्ति र वैभव
माथि आफूसॅगै लान्छौ ?

माइली भाउजू रूखबाट लडेर मरिछन्
गाउॅका धेरै मान्यवर अब मैले कहिल्यै
भेटन नपाउने गरि गएछन्
माथ्ला घरे काका बिरामी रहेछन्
रूंदै थिए र भन्दै थिए
तॅलाई नदेखी मर्छु कि भन्ने चिन्ता लाग्छ
के तिमीले सम्झॅदैनौ ?
कहिले फर्कन्छौ ?

साथी संगती
भन्दै थिए स्कूलका ती रमाइला पल विर्स्यौ ?
डण्डीबियो खेलेका ती दिन
चौथी हानेका ती रात
होली खेलेर स्कूलको चन्दा उठाउॅदा
गाउ(गाउॅ दौडेका ती पल
सुगाका बचेरा खोज्दै जॅगल जंगल चहारेका ती क्षण
के तिमीलाई याद आउॅदैन ?

वन र पाखाले भन्दै थिए
तिमीले बजाएका पातका सुरिला भाका
मायालाई गाएका सुरेली गीत
तिमीले हालेको सुसेली
अनि विस्तारै गुनगुनाएका
गीतको जवाफ
कोइलीले दिएको मीठो स्वर
पारिवाट मायाले गीतमै दिएको जवाफ
के सपनीमा पनि आउॅदैन ?

दुखःका पहाडहरूले सोधे
के स्कूलमा लाग्दाको भोक
फिस तिर्न ढिलो हॅुदा
स्कूलले कक्षावाट निकालेका ती क्षण
भोकभोकै हिॅड्दाका पीडा
नांगै खुट्टा पस्दाका किला
ठेस लागेर औलाका नंग निस्कॅदा
पातलो कपडाले नथाम्दाको जाडो
मस्त निन्द्रामा अनुहारमा चुहिएको बर्षात्को पानी
दुःख,दर्द,तिरस्कार अनि आफन्तीले गरेको घृणा
भित्र दुखेको मुटु
जलेको मन,
भतभती पोलेको आत्मको पीडा
के याद आउॅदैन तॅलाई ?

पिकनिक गएको त्यो दिन
राती राती बाटो बिराएर फर्कंदाको पीडा
हाम्रो ग्रुप हराएको त्यो क्षण
चिच्याउॅदै
मादल ठोक्दै
सुनसान रात
जंगली जनावरको अर्कै बात ?
सॅाप, बिच्छी अनि अजिंगरको
महा डर, भय अनि त्रास
रूख-रूख, झाडी झाडी,पात पात
त्यो पीडादायी रात
हराएको बात ।

रॅाको बालेर
चिच्याउॅदै आएका गाउॅले
तिमी हराउॅदा आत्तिने
तिम्रो सफलतामा मात्तिने
तिम्रो गुणमा गर्व गर्ने
पल पल तिमी भने पछि मर्ने
संसारमा कतै पाउॅछौ तिमी ?
कहिले आउॅछौ तिमी ?

गाउॅको चोकमा,सभामा थिए
प्रेमले मलाई काखमा लिए
बिन्ती गर्दै भन्दै थिए
तेरो हाम्लाई केही चाहिन्न
प्रेम यस्तो कहिॅ पाइन्न
छोड्दे विदेश
घरदेशमा ठाउॅ छ
जताततै तेरै नाउॅ छ
अहिले त तेरो घर अगाडि
पिच आएको छ
फलफूल लटरम्म बारी मगमगाएको छ
घरमै पानी, बिजुली बत्ती
गाउॅ घर, वन, पाखा
तेरो पर्खाइमा व्यग्र छन्
तॅ कहिले फर्कन्छस् अहिल्यै भन् ?

–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्