११ पुष २०८१, बिहीबार

कविताः विद्रोह (छन्दः शार्दूलविकृडित)

कोलोराडोखबर संवाददाता , November 30th, 2024

–सुदीपभद्र खनाल–
यौटा खेप्दछ दुःख रक्त पसिना जस्तै बगाएपनि
अर्को मात्र हसुर्छ शोषण गरी जे तन्त्र आएपनि
जैलेसम्म हुँदैन नीति गतिलो विद्रोह छन् भन्छु म
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु म ।

मान्छेले कसरी बुझुन् सरसता शालीनता एकता
आफ्नै जीवनको हुँदैन त भने खाने र बस्ने पता
हो विद्रोह हुँदैन कारण नभै चेत्दैन सत्ता किन
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु म ।

यो विज्ञान विधान पद्दति सबै हो न्यायकै प्राम्तिमा
हो सत्ता अनि शत्तिश्रोत जनको कल्याणको निम्तिमा
यौटैले जब लुट्छ उठ्छ खुकुरी चेत्दैन सत्ता किन
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु म ।

मान्छेले जब भन्छ मानिससँगै तल्लो तँ उच्चा म हूँ
मेरो निर्णय नै अकाट्य छ बुझी आदेश मानीरहू
यस्तोमा भन शान्ति हुन्छ कसरी चेत्दैन मान्छे किन
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु ।

खै को छन् सुखचैन शान्ति सुविधा चाहिन्न भन्ने भन
यौटै इश्वरले रचेपछि यहाँ के भेदको सिर्जन
जैलेसम्म रहन्छ भेद मुटुमा विद्रोह छन् भन्छु म
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु म ।

मान्छेमा समता निसाफ चुलिए को युद्द चाहन्छ र
मान्छेका रव दुःख दर्द सुनिए विद्रोह को गर्छ र
कुल्ची मानवता हिँडेपछि त्यहाँ विद्रोह छन् भन्छु म
ताकी खप्पर सोच भन्छ किन त्यो बन्दूक पड्कन्छु म ।

–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्