–आर.आर. चौलागाईं–
अहिले जताततै छ्यासछ्यास्ती भेटिन्छन्
श्रीपेच नलगाएका राजाहरू ।
गाउँदेखि शहरसम्म भेटिन्छन्
वडादेखि पालिकासम्म भेटिन्छन्
संसद भवनदेखि सिंहदरबारसम्म भेटिन्छन्
बालुवाटारदेखि शीतल निवाससम्म भेटिन्छन् ।
पहिला राजा एउटामात्रै हुन्थ्यो
अहिले असङ्ख्य छन्
पहिला एउटा राजाले मात्रै लुट्थ्यो
अहिले हज्जारौँले लुट्छन् ।
हिजो टाढैदेखि हाँसेर बोल्नेहरू
अहिले राजा भएर होला गजक्क परेर हिँड्छन्
बोल्दैनन् हिजो हात मिलाएर अङ्कमाल गर्नेहरू
अहिले राजा भएर होला नमस्ते पनि फर्काउँदैनन्
फोन उठाउँदैनन् हिजो अनेकथरी सपना देखाउनेहरू
अहिले राजा भएर होला सपनाका कुरै गर्दैनन् ।
अहिले पुस्तकालयमा भेटिँदैनन्
साहित्यिक समारोहमा भेटिँदैनन्
साँस्कृतिक कार्यक्रमहरूमा भेटिँदैनन्
पत्रिका पसलहरूमा भेटिँदैनन्
जनताका दुस्ख र पीरमर्कामा भेटिँदैनन्
बरु अहिले भट्टीभट्टीमा भेटिन्छन्
जूवाघरमा भेटिन्छन्
कोठीहरूमा भेटिन्छन्
अहिले यस्तैयस्तै ठाउँहरूमा भेटिन्छन्
श्रीपेच नलगाएका राजाहरू ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्