१२ मंसिर २०८१, बुधबार

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलेन, १६ दिन पछि रिहा

कोलोराडोखबर संवाददाता , November 27th, 2024

नेपाल । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सोमबार प्रहरी हिरासतबाट रिहा भएका छन् ।

विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए ।

मन्त्री अधिकारी प्रक्रिया नपुर्‍याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्‍याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।

अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्