नेपाल (हेटौंडा) । मकवानपुर प्रहरीले गत आइतबार राति स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक ईभी माइक्रो बसलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेकप्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर,भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए ।
सोमबारको बजार भाउअनुसार रुपान्तरण गर्दा अमेरिकी डलर प्रति १ डलरबराबर नेपाली रुपैयाँ १३५.०१६ का दरले रू ४३,२०,५१५ र प्रति १ युरोबराबर नेपाली रुपैयाँ १४०.६८ का दरले रु १९,६९,५१५ गरी जम्मा नेपाली रुपैयाँ रु ६२,९०,०३५ बरामद गरेको प्रहरीले जनाएको छ ।
तीनै जना भारतीय नागरिकले स्रोत नखुलेको विदेशी मुद्रा भारत लैजान लागेको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले विशेष सूचनाका आधारमा स्रोत नखुलेको रकम र उनीहरूलाई नियन्त्रणमा लिन सकेको जनाएको छ । विदेशी मुद्रासहित उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय मीनभवन ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वताए ।
प्रतिक्रिया दिनुहोस्