६ मंसिर २०८१, बिहीबार

सहकारी पीडितहरुको आन्दोलनमा रास्वपाको साथ, गैरदलीय पहिचानसहित सघाउने

कोलोराडोखबर संवाददाता , November 20th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले अभियानको आन्दोलनमा पार्टीको समर्थन रहेको बताउँदै उपस्थितिको लागि सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् ।

सहकारी समस्याको मूल कारण नै फितलो कानून, भएको कानूनको इमानदार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेको रास्वपाको ठहर छ ।

बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त नेपाली नागरिकहरुलाई आउन विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्