६ मंसिर २०८१, बिहीबार

स्पेनमा नेपाली दूतावासले गर्यो घुम्ती सेवा, ३१८ जनाले सेवा लिए

कोलोराडोखबर संवाददाता , November 19th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको समन्वयमा नेपाली दूतावास, म्याड्रिडबाट बार्सिलोना पुगेको घुम्ती टोलीले ३१८ जनालाई विभिन्न सेवाहरू प्रदान गरेको छ ।

एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटका अनुसार, घुम्ती टोलीले १६ र १७ नोभेम्बर २०२४ मा बार्सिलोनास्थित एनआरएनए कार्यालयमा दुई दिनको शिविर सञ्चालन गरी राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, र कन्सुलर सेवाहरू उपलब्ध गराएको थियो ।

यो पहल स्पेनभरि रहेका नेपाली समुदायका लागि विशेष रूपमा महत्त्वपूर्ण भएको बताइएको छ। यसले दूरदराजमा रहेका नेपाली नागरिकलाई सहज र छिटो सेवासुविधा उपलब्ध गराउन ठूलो सहयोग पुर्‍याएको छ।

शिविर सञ्चालनका लागि नेपाली दूतावासको टोली कार्यवाहक राजदूत यज्ञराज पौड्यालको नेतृत्वमा बार्सिलोना पुगेको थियो। टोलीमा राष्ट्रसेवक कर्मचारीहरू विपिन चन्द, दिनेश राउत, र लक्ष्मण शर्मा सहभागी थिए। उनीहरूको निरन्तर प्रयासले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्‍यायो ।

एनआरएनए स्पेनले एक विज्ञप्ति जारी गर्दै शिविर सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउने सम्पूर्ण टोलीप्रति आभार प्रकट गरेको छ । विज्ञप्तिमा विशेष रूपमा कार्यवाहक राजदूत पौड्याल र उनको टोलीलाई धन्यवाद दिँदै यो प्रयासले नेपाली समुदायको समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।

शिविर सञ्चालनमा एनआरएनएका विभिन्न सदस्यहरूले महत्वपूर्ण भूमिका खेले। चिन्तामणि सापकोटा, दिनेश कुमार गिरि, सालिकराम डुम्रे, गंगाप्रसाद भुसाल, यज्ञ नारायण पौडेल, प्रदीप वाग्ले, र सूर्य प्रसाद श्रेष्ठले शिविर व्यवस्थापन र सेवाग्राहीहरूको समस्याको समाधानमा उल्लेखनीय योगदान गरे ।

घुम्ती सेवामा सहभागीहरूले राहदानी नवीकरणदेखि लिएर ट्राभल डकुमेन्ट र अन्य कन्सुलर सेवा सहजै प्राप्त गर्न सके। बार्सिलोनामा यस किसिमको सेवा पहिलोपटक नभए पनि यसपटकको शिविरमा सहभागिता र व्यवस्थापन उत्कृष्ट भएको सेवाग्राहीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्