कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ ।
केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाका हरेक कृतिलाई हजारौँ वर्ष सुरक्षित राख्ने अभियान अगाडि बढाउने योजना रहेको खुलासा गरे ।
बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्माले देवकोटा जयन्ती र भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने परम्परालाई विगत ३० वर्षदेखि नै निरन्तरता दिई प्रवासमा भाषा साहित्यलाई दोस्रो तेस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यमा अनेसासले नैँ नेतृत्व गरिरहेको तथ्य प्रस्तुत गरे ।
केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले देवकोटाको साहित्यिक योगदानबारे चर्चा गर्दै कवितामा जत्तिकै महाकविले योगदान निवन्धमा पनि दिएको तथ्य औँल्याए । केन्द्रीय कार्यसमिति (अमेरिका क्षेत्र) उपाध्यक्ष सुदीपभद्र खनाल, बिओटी कोषाध्यक्ष नेत्रबन्धु पोखरेल तथा पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले देवकोटा जयन्तीबारे छोटो मन्तव्य व्यक्त गर्दै आ–आफ्नो रचना वाचन गरे ।
साहित्यकार मिलन कोइरालाले प्रमुख अतिथि डा. बरालको गीत, गजल र समालोचनाको क्षेत्रमा दिएको योगदान र महाकवि देवकोटाको जीवनीबारे प्रकाश पारे । देवकोटालाई विभिन्न कवि, गजलकार, गायकहरूबाट आ–आफ्ना रचना वाचन तथा गायनद्वारा श्रद्धा भाव व्यक्त गरियो । यसरी रचना वाचन र गायन प्रस्तुत गर्नेहरूमा भूपेन्द्र महत, देव भट्टराई, सिर्जना अर्याल, रमेश गुरुङ, श्री पोखरेल, मनोजकाजी तुलाधर, मनोजराज शिवाकोटी, लाल चौलागाईं आदि थिए ।
प्रतिक्रिया दिनुहोस्