अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली मुलका मधेसी समुदायले यस बर्षको छठ पर्ब हर्षोल्लासका साथ मनाएका छन् ।
स्थानीय समयअनुसार गत बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने ‘मधेसी एसोसियसन ईन अमेरिका’का अध्यक्ष डा सङ्गीत रौनियारले जानकारी दिनुभयो ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्व मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका विशेषगरी मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं मधेसी समुदायका अगुवाहरूले छठ पर्व कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्ट वर्थमा रहेका मधेसी समुदायको डेन्टनमा उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको डा रौनियारले बताउनुभयो ।
यसैगरी टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्व धुमधामका साथ मनाइएको छ । अस्टिनस्थित नेपाली समुदायको साझा संस्था ‘ग्रेटर अस्टिन नेपाली समाज’ले छठ पर्ब मनाउन सहयोग र सहजीकरण गरेको थियो । अस्टिनस्थित पशुपतिनाथ मन्दिर नजिकको तलाऊमा अस्ताउँदो सूर्यलाई अर्घ दिनेहरुको भिड लागेको थियो ।
अघिल्ला वर्षहरूमा मधेसी समुदायको मात्र सहभागिता रहने छठ पर्बमा यस बर्ष गैरमधेसी समुदायको पनि सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्वउपाध्यक्ष तथा सामाजिक अभियन्ता रामकुमार महतोले जानकारी दिनुभयो ।
त्यस्तै मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं अगुवाहरुका अनुसार संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, फिलाडेलफिया, फोलिरिडा, अटलान्टा, न्यूयोर्कलगायतका राज्य तथा सहरमा पनि यस वर्ष हर्षोल्लासका साथ छठ पर्ब मनाइएको छ ।
त्यस्तै नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् ।
मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ ।
आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिनुभयो ।
यादवले भन्नुभयो, “हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।”
प्रतिक्रिया दिनुहोस्