नेपाल । अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा सो पुस्तकको अग्रज कलाकार हरिप्रसाद शर्माले विमोचन गर्नुभएको हो ।
अग्रज कलाकार शर्माले कर्माचार्यका बारेमा सचित्र पुस्तक प्रकाशन हुनु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले नेपाली ललितकलाका क्षेत्रमा कर्माचार्य सुपरिचित व्यक्तित्व भएकाले पुस्तकमार्फत कला र कलाकारको व्यक्तित्वलाई चिनाउन लेखकको समेत भूमिका अहम् रहेको धारणा राख्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला जगत्मा कर्माचार्यको विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले पुस्तकमार्फत अग्रज कलाकारको कलायात्रा र कलाकर्मलाई बुझ्न निकै सहज भएको विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले नेपाली कलाजगत्मा कर्माचार्यले पाँच दशकभन्दा लामो समयदेखि योगदान दिएको बताउँदै पुस्तक प्रकाशनले कलाकारको सङ्घर्षको कथालाई नियाल्न निकै सहज भएको बताउनुभयो । उहाँले कलाकार कर्माचार्यले नेपालमा पहिलो पटक कोलाज कला बनाएको सुनाउँदै चार सयभन्दा बढी हुलाक टिकट डिजाइन गरेको इतिहास पनि कर्माचार्यले बनाएको जानकारी दिनुभयो ।
पुस्तकका लेखक विजयराज आचार्यले कलाकार कर्माचार्यको सङ्घर्षको कथालाई पुस्तकका रूपमा ल्याएको बताउनुभयो । कलाकार कर्माचार्यले पुस्तकमा आफ्नो कलायात्राको विषय आएको बताउनुभयो । उहाँले कलाकर्ममा लाग्दा सुरुका दिनमा गरेका सङ्घर्ष र परिवेश पुस्तकमा उल्लेख भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जीवन भोगाइका यथार्थ तथ्यलाई संवादको शैलीमा आधारित भई पुस्तक लेखिएको छ । यसमा मेरो बाल्य जीवनका विविध पाटा, पात्र र परिवेशलाई आकर्षक सन्दर्भचित्रका प्रस्तुत गरिएको छ ।” पुस्तकमा रहेका चित्र कलाकार कर्माचार्य आफैँले कोर्नुभएको हो ।
सो पुस्तकमाथि प्राडा जीवेन्द्रदेव गिरी र समीक्षक मुकेश मल्लले टिप्पणी गर्नुभएको छ । यसै गरी पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री शङ्कर कोइराला, प्रतिनिधि सभा सदस्य रघुजी पन्त, अनन्त वाग्लेलगायतले कर्माचार्यको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो । कृतिको मूल्य तीन सय रहेको छ । पुस्तक विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्