६ मंसिर २०८१, बिहीबार

कविताः हाम्रो सरकार र हामी

कोलोराडोखबर संवाददाता , November 9th, 2024

–आर.आर. चौलागाईं–

हाम्रो सरकार
बन्चरोले कागज काट्छ
र कैँची बोकेर रुख काट्न जान्छ ।

हाम्रो सरकार
खेतमा प्लटिङको अनुमति दिन्छ
र बाहिरबाट चामल आयात गर्छ ।

हाम्रो सरकार
युवाहरूलाई विदेश पठाउँछ
र रेमिटेन्स खाएर आफ्नो खर्च धान्छ ।

हाम्रो सरकार
सित्तैँमा आएको पानी बेच्छ
र घाटा लाग्यो भनेर कोकोहोलो मच्चाउँछ ।

हाम्रो सरकार
खोलो नभएको ठाउँमा पुल हाल्छ
र विकासको नारा घन्काउँछ ।

हाम्रो सरकार
डाँडामा भ्यु टावर ठड्याउँछ
र दूरबीन लगाएर देशको दुर्दशा हेर्छ ।

हाम्रो सरकार
मानव तस्करी गर्छ
र कानूनबाट मन्त्रीलाई बचाउँछ ।

हाम्रो सरकार
देशका हीराहरूलाई रछ्यानमा फाल्छ
र बाहिरका कीराहरूलाई दोसल्ला ओढाउँछ ।

हामी जनता पनि
धारे हात लगाएर सरकारलाई गाली गर्छौँ
र उसैलाई भोट हाल्छौँ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्