–रमेशचन्द्र घिमिरे–
माल्दाम्लो नि चाहिएन गोरु खोज्न परेन
गोबर माटो भिजाई खलो पोत्न परेन
केलाई टन्टो बेसाउनु हाइसन्चो भाको छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ ।
खलो तास्न लाइएन मियो ल्याउन परेन
दयेँरालाई खट्टे भट्ट खाजा ख्वाउन परेन
जति खानु मेसिनले आफू एक्लै खाको छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ ।
सफा पारी सर्लक्क धान उँधो बुरुरु
ढुटी माटी पारेर पराल उँभो फुरुरु
सानो भाइलाई यो देखी अचम्म पो लाको छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ ।
आज दाइँ हो भनेर राति उठ्न नपर्ने
थेचारेर ढुङ्गामा धान चुट्न नपर्ने
बत्ताउने नाङ्लाको पालो अब गाको छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्