नेपाल । नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको माग उल्लेखनीय रूपमा बढेको छ ।
नेपालमा आगामी कार्तिक ३० गते प्रदर्शनका लागि तयार भएको यो चलचित्र जापानका प्रमुख १४ शहरहरूमा सोल्ड आउट भइसकेको छ । यी शहरहरूमा टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, र ओकिनावा प्रमुख छन् । जापानका लागि प्रदर्शन अधिकार बीटीकेएस इन्टरटेन्मेन्टले लिएको छ ।
चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका छन्, जसको यो पहिलो निर्देशन हो। चन्द्र पन्तले भोजपुरी चलचित्रमा निर्देशन अनुभव सँगालिसकेका छन् भने द्वन्द्व निर्देशनमा पनि विशेष पहिचान बनाएका छन् ।
‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्माको साथै नेपाली कलाकारहरू हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा तथा संवाद प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीको लेखनमा आधारित छ। नीता फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। छायांकन बलिउडका प्रसिद्ध सिनेमाटोग्राफर कवीरलालले गरेका छन्।
नेपाली, हिन्दी, र तेलुगु तीन भाषामा प्रदर्शनको तयारीमा रहेको ‘ह्रस्व दीर्घ’ले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अपेक्षा गरिएको छ। चलचित्रको वितरणको जिम्मा व्याङ्कटेस इन्टरटेन्मेन्टले लिएको छ।
प्रतिक्रिया दिनुहोस्