-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE) ले आयोजना गरेको ‘बृहत देउसी भैलो-२०२४’ सम्पन्न भएको छ । यही नोभेम्बर १ तारिख सुक्रबारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा उक्त देउसी भैलो सम्पन्न भएको हो ।
नेपालीहरुको माहान चाड तिहारको अवसरमा खेलिएको उक्त देउसी भैलोबाट संस्थाको सहयोगार्थ ४१ हजार डलर सङ्कलन भएको र थप सहोग प्राप्त हुने क्रम जारी नै रहेको आयोजकले जनाएको छ । संस्थाको मुख्य आर्थिक श्रोतको रुपमा स्थापना कालदेखि नै खेलिदै आइएको देउसी भैलोलाई यस वर्ष पनि संस्थाले निरन्तरता दिएको हो ।
संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालको अध्यक्षता रहेको कार्यक्रममा ब्रेनट्री सिटीकी मेयर इरिन जोइसको विशेष उपस्थिति रहेको थियो। पण्डितहरुले स्वस्तिवाचन गरेर उद्घाटन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जोइसले मन्दिरको बस्तुगत अवस्था देखेर आफू निकै प्रभावित भएको प्रतिक्रिया दिएकी थिइन्। मन्तव्यको क्रममा उनले भवन भित्र रहेको धार्मिक तथा सांस्कृतिक सुन्दरताप्रति आश्चर्य प्रकट गर्न भ्याइन् ।
उनले कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा निकै खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्न सकिने जनाइन् । यसै दौरानमा मेयर जोइसले मन्दिरमा स्थापित देवी देवताहरुको अवलोकनसमेत गरेकी थिइन् ।
पहिलो चरण अन्तर्गतको मन्तव्य कार्यक्रमका क्रममा संस्थाका उपाध्यक्ष एवम् देउसी भैलो कार्यक्रमका संयोजक मिलनकुमार कार्कीले विशेष अतिथि, अतिथि, दाता, सहभागीहरुलगायतलाई स्वागत गरेका थिए भने, ट्रष्टीका अध्यक्ष सुशील पौडेलले संस्था र तिहार चाडको बारेमा संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
दोश्रो चरणमा गीत सङ्गीतसहितको देउसी भैलो कार्यक्रम सुरू गरिएको थियो । अतिथि कलाकार देवीका केसीको उपस्थित र प्रस्तुतिले साङ्गीतिक देउसी भैलो निकै रमाइलो बनेको थियो । आफ्नो प्रस्तुतिका क्रममा उनले गीत सङ्गीतको माध्यमबाट चाडको मर्म, महत्व र गरिमालाई उजागर गर्ने प्रयास गरेकी थिइन् ।
उक्त देउसी भैलो कार्यक्रममा बोस्टनमा रहेका स्थानीय कलाकारहरुको प्रस्तुति पनि जोडदार रहेको थियो । उनीहरुले गीत सङ्गीतको माध्यमबाट धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परा, रितिथिति, चालचलन, नेपालीपन तथा पहिचान आदिलाई उजागर गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन भरपूर कोसिस गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष बिरोचन नेपालले धन्यवाद मन्तव्य दिदै कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमलाई समापन गर्ने क्रममा उनले कार्यक्रममा ब्रेनट्रीकी मेयर इरिन जोइसको उपस्थित संस्थाका लागि अमूल्य उपलब्धि भएको जिकिर गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेष अतिथि, अतिथि, दाता, संस्था परिवार, कलाकार, सहभागीहरु लगायतलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक मिलनकुमार कार्कीले पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिदै निकै खुशी व्यक्त गरेका छन्। उनले कार्यक्रमले धार्मिक, सांस्कृतिक, सामाजिक, साङ्गीतिकलगायत पक्षमा थप कसी लगाउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन् ।
कार्यक्रमले संस्थाको लागि आवश्यक आर्थिक सहयोग सङ्कन गर्न र सामुदायिक एकता अझ आत्मीय र कसिलो बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । संयोजक कार्कीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा महत्वपूर्ण योगदान पुर्याउने सबैलाई संस्थाको तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्