-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अनेसास कोलोराडो शाखाको नयां कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिकमा सम्पन्न हुने भएको छ ।
डा. भीमप्रकाश कट्टेल संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तिन सदस्यीय निर्वाचन समितिले सामाजिक संजाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।
अनेसास कोलोराडो शाखाको २०२४ २०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितिले जनाएको छ ।
अनेसास कोलोराडो शाखाको बिधानको परिच्छेद २ को दफाहरु ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरुप निर्वाचन प्रक्रिया हुने समितिले जनाएको छ । जस अनुसार ईच्छुक आजीवन सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारीकोलागि आवेदन दर्ता गर्नु पर्नेछ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न योग्य हुन कम्तीमा ३ महिना अगाडि अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको साधारण, आजीवन वा संस्थागत सदस्यता लिएको तथा कम्तीमा ३ महिनादेखि संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आएको हुनुपर्नेछ । यसैगरी दफा ५ (ख) र (ई) बमोजिम स्थानान्तरण भई आएका आजीवन सदस्यहरुको हकमा बसाइ सरेको ३ महिना पश्चात शाखाको निर्वाचनमा मतदानको लागि योग्य हुनेछन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको कुनै पनि पदाधिकारीको उम्मेदवार हुन संयुक्त राज्य अमेरिकामा कनूनी रूपमा बसोबास गरेको हुनु पर्नेछ ।
अध्यक्ष पदको हकमा संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा कम्तीमा २ बर्षदेखि नियमित बसोबास गर्दै आएको तथा कम्तीमा २ बर्ष अगाडि शाखाको साधारण वा आजीवन सदस्यता लिएको हुनु पर्नेछ । दुई पटक अध्यक्ष भइसकेको ब्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्न पाउने छैन । साथै कुनै पनि प्रमाणित कानूनी सजाय पाएको हुनु हुँदैन । उम्मेदवारी दर्ता विद्युतीय माध्यमबाट निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा अक्टोबर २५ तारिखको राति ११:५९ बजेसम्ममा प्राप्त भएको हुनु पर्ने छ ।
निर्वाचन विद्युतीय माध्यमबाट गोप्य मतदानद्वारा हुनेछ । मतदाताहरुले आफ्नो छनौट इमेलबाट पठाउनु पर्नेछ । नोभेम्बर १५ तारिखको राती १२ बजे देखि नोभेम्बर १६ को राती ११:५९ बजेसम्म मतदान खुला रहनेछ । सो अवधिमा प्राप्त इमेल मतहरू मतगणनामा सामेल गरिनेछन् । कसैले पनि नक्कली मतदान वा अन्य कसैको नाममा मतदान गर्न पाइने छैन । उम्मेद्वारी दर्ता भइसकेपछि सम्पूर्ण उम्मेदवारहरूको अन्तिम नामावली अद्यावधिक प्रक्रियाअनुरूप यथा समयमा सार्वजनिक गरिनेछ ।
उम्मेदवारीका दर्ता गर्नका लागि स्पष्टसंग भरिएको फारमलाइ स्क्यान गरी अक्टोबर २५ तारिखको राति ११:५९ बजेभित्र [email protected] मा प्राप्त भैसक्नु पर्ने छ । उमेद्धारी फारम संगै उम्मेद्धारले नेपाली वा अंग्रेजी भाषामा लेखिएको आफूलाई भोट हाल्नु पर्ने कारण सहितको विवरण उल्लेख भएको हुनुपर्ने छ ।
अनेसास कोलोराडो शाखा निर्वाचन २०२४ कार्यतालिका यस प्रकारको रहेको छ । अक्टोबर २० मतदाता नामावली प्रकाशन, अक्टोबर २५ उम्मेदवारी दर्ताको अन्तिम दिन, अक्टोबर २६ उम्मेदवारहरुको प्राथमिक सूची प्रकाशन, अक्टोबर २७ उम्मेदवारी दर्ताको प्रमाणिकरण एवं उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, अक्टोबर २८ उम्मेदवारहरुको प्रमाणित सूची प्रकाशन, अक्टोबर ३० दावी बिरोध गर्ने अवधि रातीको ११ः५९ सम्म, अक्टोबर ३१ उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन, नोभेम्बर ११ विद्युतीय माध्यमबाट चुनाव प्रचारप्रसार बन्द, नोभेम्बर १५ मतदान विद्युतीय माध्यमबाट राती १२ बजे देखि नोभेम्बर १६ को राती ११ः५९ सम्म र नोभेम्बर १७ निर्वाचन परिणाम घोषणा हुनेछ ।
निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता बिपरित कृयाकलाप गरेमा निर्वाचन समितिले निम्नबमोजिमको कार्बाही गर्नसक्नेछ । पहिलो पटक लिखित चेतावनी दिइनेछ र यो चेतावनीको तथ्य निर्वाचन समितिको दस्ताबेजमा सुरक्षित रखिनेछ । निस्चित समय भित्र पनि उस्तै कृयाकलाप रही सुध्रिएको नपाईएमा दोस्रो पटक लिखित चेतावनी दिइनेछ । दोस्रो पटक लिखित चेतावनी दिंदा पनि निस्चित समय सम्म पनि उस्तै कृयाकलाप गरी सुध्रिएको नपाईएमा उम्मेदवारी रद्ध गरिनेछ ।
निर्वाचन समितीले अनेसास कोलोराडो शाखाको बिधान र निर्वाचन कार्यविधि अनुरुप निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन संचालन गर्न आबश्यक नियम तर्जुमा गर्न सक्ने छ । निर्वाचन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समिति, २०२४ मा निहित रहेन छ ।
प्रतिक्रिया दिनुहोस्