११ मंसिर २०८१, मंगलवार

अमेरिका र क्यानडाका बैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

कोलोराडोखबर संवाददाता , October 9th, 2024

अमेरिका । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकद्वय जोन जे हपफिल्ड र जेफ्री इ हिन्टनलाई प्रदान गरिने भएको छ ।

रोयल स्वीडीस एकेडेमी अफ साइन्सेजले मंगलबार पुरस्कार घोषणा गरेको हो । कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि उक्त पुरस्कार वैज्ञानिकद्वयलाई दिइने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भौतिक शास्त्रतर्फ पुरस्कार पाउने हपफिल्ड अमेरिकास्थित प्रिन्स्टन विश्वविद्यालयका प्रोफेसर हुन् भने हिन्टन क्यानडाको टोरन्टो विश्वविद्यालयका प्रोफेसर हुन् ।

विश्वभरका भौतिकशास्त्रीहरूका लागि उक्त पुरस्कार सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ ।

नोबेल पुरस्कार विजेताहरूले करिब १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन् । चिकित्साशास्त्र तर्फको नोबेल भने अमेरिकाका भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनले प्राप्त गरेका छन् ।

माइक्रो आरएनए आविष्कार गरेको भन्दै उनीहरुलाई पुरस्कार प्रदान गरिएको नोबेल समितिले जनाएको थियो । बुधबार रसायन शास्त्र र बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ ।

त्यस्तै शुक्रबार नोबेल शान्ति पुरस्कार घोषणा गरिने छ भने अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १४ मा प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्