९ मंसिर २०८१, आईतवार

बालकविताः दसैँको गृहकार्य

कोलोराडोखबर संवाददाता , October 5th, 2024

–रमेशचन्द्र घिमिरे–

रमाएर यो दसैँ मान्न पाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?

नपढेर बिदामा खेल्यौ भने खेल
अर्को जाँचमा पक्कै नि हुन्छौ तिमी फेल

सर् मिसका कुराले दिमाग तात्तिन्छ
लेख्दा(लेख्दा थाकेर मनै आत्तिन्छ

छिमेकको साथीले चङ्गा उडायो
थोत्रो जर्किन काटेर मोटर गुडायो

त्यो साथीले खेलेको देखेपछि झन्
मलाई कत्ति लेख्न र पढ्न छैन मन

पढ्नु पर्छ भन्ने कुरा हाम्लाई थाहा छ
चाडको बेला पढ्नै पर्छ भन्ने काहाँ छ ?

किन यस्तो हैरानी किन पेलम् पेल ?
घुँडा मारी लेखूँ म अब कतिन्जेल ?

पिङ् खेल्न नि पाइएन मनै खन्न छ
सकिएन लेखेर अझै टन्न छ

सर् मिसले यो कुरा मनमा लिनू है
रमाउने र हाँस्ने–खेल्ने मौका दिनू है

पढाइको हतारोले टीकै लाइन्न कि ?
गृहकार्य धेरै छ गर्न भ्याइन्न कि ?

– भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्