नेपाल । पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ सार्वजनिक भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, डबलीमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बस्नेत, चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतम र सङ्गीतकार एवम् गायक उज्ज्वल सागरले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा गायक उज्ज्वल सागरको पियानोका सोलो प्रस्तुतिसमेत रह्यो । उहाँले विभिन्न गीतमार्फत आफ्नो प्रस्तुति दिनुभयो । साथै कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तर्संवाद गर्नुभयो ।
कार्यक्रममा चलचित्र निर्देशक भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गर्नुभयो ।
बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मेहुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले बताउनुभयो ।
लेखक बस्नेत अहिलेको समयको उपहारका रूपमा आफूहरूले पाएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताउनुभयो ।
कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताउनुभयो । यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उहाँको भनाइ छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय बस्नेतसँग नागरिक दैनिक, कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नेपाल साप्ताहिक र शिलापत्र मल्टिमिडिया पोर्टलमा काम गरिसकेको अनुभव छ ।
उहाँ अहिले अनलाइन खबरका सम्पादक हुनुहुन्छ। बस्नेतका ‘७२ को विस्मय’ (गैरआख्यान) र ‘महाभारा’ (उपन्यास) प्रकाशित छन् । उपन्यास ‘सिमसारा’ उहाँको तेस्रो कृति हो ।
प्रतिक्रिया दिनुहोस्