९ मंसिर २०८१, आईतवार

साहित्यकार विजय चालिसेको उपन्यास युगसन्धि सार्वजनिक

कोलोराडोखबर संवाददाता , October 4th, 2024

नेपाल । ऋषि वशिष्ठ र विश्वामित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको मङ्गलबार राजधानीमा सार्वजनिक गरिएको छ ।

साहित्यकार विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबिचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबिचको द्वन्द्वमा कथा अघि बढेको छ । उपन्यासमा ब्रह्म शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबिच समानता साथै आर्य र अनार्यबिचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भनी वैदिककालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।

समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो । समीक्षक डा. ज्ञानु पाण्डेले युगसन्धि उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गर्नुभयो । वैदिक कालको कथालाई लैङ्गिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाइ थियो ।

डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाउनुभएको चर्चा गर्नुभयो ।

लेखक चालिसेले वैदिककालका द्वन्द्वलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो । कार्यक्रममा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले लेखकलाई शुभकामना दिनुभएको थियो । परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य ५५० रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्