९ मंसिर २०८१, आईतवार

अनेसासद्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

कोलोराडोखबर संवाददाता , October 1st, 2024

अमेरिका । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बिराटनगरका कवि मधुर भट्टराई प्रथम भएका छन् । भट्टराईले ‘स्कुल जानुछ’ शीर्षकमा कवितावाचन गरेका थिए ।

यसैगरी हाल क्यालिफोर्निया अमेरिकामा बस्दै आउनुभएका जमूना भट्टराई (आततायी आकाश) द्वितीय, मकवानपुरका कवि सुबास सजल (नदीको यात्रा), चितवनका कवि सिन्धु पौडेल (परदेशबाट फर्किने बेला) र ईलामका नदी भट्टराई (अग्लो शैलसमान होस् यश अझै साहित्यको फाँटमा) तृतीय हुन सफल भए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ सय अमेरिकी डलर, द्वितीयलाई ३ सय अमेरिकी डलर, तृतीय स्थान हासिल गरेका तीनजना कविलाई जनही २ सय अमेरिकी डलरसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विश्वभरीबाट (नेपाली भाषामा रचित) १ सय ६९ वटा कविता प्राप्त भएको र तीमध्ये २५ कविता पहिलो चरणमा छनोट गरी अनलाईन जुम मार्फत प्रत्यक्ष वाचनका लागि शनिबार बोलाइएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा कवि श्रवण मुकारूङ् ,कवि चन्द्रप्रसाद न्यौपाने एवम् कवि प्रभा भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्